Top College in Nepal

Mahadevtar Height, Ktm, Nepal+977-01-4444444

News

News

वैदिक चिन्तनको समसामयिक उपयोगिता

शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकाश मन्त्रालय गण्डकीप्रदेशको सहयोग एवं महेश-संन्यास-आश्रम (रामानन्द अनुसन्धान केन्द्र RRC ) को आयोजनामा आयोजित वैदिक ज्ञानपरम्परा र जीवन पद्धतिका महत्त्वपूर्ण ज्ञान सीप र पद्धतिसँग नयाँ पुस्तालाई जोडेर हाम्रो मौलिक ज्ञान सीप र पद्धतिको संवर्धन गर्ने उद्देश्यले समायोजित "वैदिक चिन्तनको समसामयिक उपयोगिता" विषयक पाँच दिने अनुसन्धानात्मक गोष्ठीको समुद्घाटन सत्र तथा प्रथम दिनको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सञ्चालकका रूपमा गोष्ठीका संयोजक उपप्रा. फणीन्द्र प्रसाद पौडेल रहेका थिए भने महेश-संस्कृत-गुरुकुल-विद्यापीठम्‌का प्राचार्य उपप्रा. कमल सुवेदीले स्वागत मन्तव्य एवं कार्यक्रमको सान्दर्भिकताका बारेमा बोलेका थिए ।
प्रमुख अतिथिका रूपमा रहेका देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्ण बहादुर कुँवरले समग्र देवघाट तथा राष्ट्रका निम्ति अति उपयोगी रहेको रामानन्द अनुसन्धान केन्द्रका लागि स्थानीय तहबाट पनि पूर्ण सहयोग रहने बताए ।
कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेल एवं देवघाट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीले राष्ट्रको गौरव रहेको यो रामानन्द अनुसन्धान केन्द्रमा हामी सबैले सहयोग गर्नुपर्ने र गर्ने प्रतिबद्धता सहित शुभकामना मन्तव्य दिए । शुभकामनाकै क्रममा "चक्रवर्ति सामाजिक उद्यमी महिला समूह" देवघाट -५ की व्यवस्थापक सङ्गीता ओझाले सान्दर्भिक कामको प्रसंशा गर्दै रामनन्द अनुसन्धान केन्द्र-RRC को उन्नतिको कामना सहित शुभकामना मन्तव्य प्रस्तुत गरिन् । गुरुकुलका संरक्षक श्री १००८ स्वामी मधुसूदनानन्द गिरिले विद्यार्थीहरूलाई उद्बोधन गर्दै राष्ट्र उत्थानमा लाग्नुपर्ने बताउँदै आशीर्वचन प्रदान गरेका थिए भने महेश-संन्यास-आश्रमका पीठाधीश र रामानन्द अनुसन्धान केन्द्रका अध्यक्ष समेत रहेका श्री १००८ स्वामी रमणानन्द गरिजी महाराजले मौलिक नेपाली संस्कृति, सभ्यता र पहिचानको संरक्षण र संवर्धन गर्न हामीले कुनै कसुर नछोड्ने बताए ।
कार्यक्रमको पहिलो सत्रमा सङ्घीय कृषि मन्त्रालयका सहसचिव वासुदेव काफ्लेले "नेपालमा वैदिक परम्परागत कृषि पद्धति र वर्तमान युगमा यसको उपयोगिता" शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा विषादी खरिदका लागि देशको अरबौँ रुपैयाँ विदेशिँदै गर्दा यसको विकल्पको रूपमा प्राङ्गारिक मल तथा गोठे मल उत्पादनका लागि कुनै पनि कार्य या योजनाहरू नभएकोमा खेद प्रकट गर्दै वैदिक कृषि पद्धति माटो सुहाउँदो र विविध जीव, कीट पतङ्ग मैत्री रहेको अनुसन्धानात्मक तथ्य प्रस्तुत गरे । अन्य जीवजन्तुको जस्तै गरी राष्ट्रिय जनावर मानिएको गाईका विभिन्न प्रजातिका गाईको संरक्षण हुन नसकेको र संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई समेत प्रस्तुत गरे ।
दोस्रो कार्यपत्र प्रस्तोता डा. कुलराज चालिसेले "श्रीकृष्णागण्डकी: सभ्यता र सम्पदा" शीर्षकको कार्यपत्रमा गण्डकी सामान्य नदी मात्र नभएको र यसको चिरन्तन संरक्षण र संवर्धन गर्न प्रदेशको गौरव सम्पदा बनाउँदै राष्ट्रिय र विश्वसम्पदासूचीमा समेत अटाउनुपर्ने भाव व्यक्त गरे । गण्डकीको शालिग्रामको महत्त्वबारे बोल्दै डा. चालिसेले हिमवत्खण्डलाई प्रचार गर्नुपर्ने समेत बताए ।
टिप्पणीकारका रूपमा सहप्रा. डा. गुरुप्रसाद सुवेदी र उपप्रा. श्याम खनालले दुवै कार्यपत्रमाथि सहभागीहरूको जिज्ञासासहितको समीक्षा गरे भने समग्र कार्यक्रमको प्रतिवेदकका रूपमा उपप्रा. कपिलदेव भट्टराईले तीनै सत्रका सम्पूर्ण गतिविधिको शब्दचित्रात्मक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा देवघाटका सबै गुरुकुलका प्रतिनिधिहरू र देशका विभिन्न क्षेत्रमा रहेका संस्कृत विद्यापीठका प्राध्यापकहरू तथा वैदिक सभ्यताप्रेमी अनुसन्धाताहरूको उपस्थिति रह्यो भने युवापुस्तालाई वैदिक एवं परम्परामा पनि वैज्ञानिकता दर्शाउँदै अनुसन्धानतर्फ उन्मुख गराउन सो कार्यक्रम सफल रह्यो ।